logo

बागमती प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश, नेपाल

वन निर्देशनालय

डिभिजन वन कार्यालय, धादिङ

धादिङबेसी, धादिङ

logo

परिचय

धादिङ जिल्ला उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा महाभारत लेकसम्म फैलिएको नेपालको एकमात्र जिल्ला हो । नेपालको संघीय संरचना बमोजिम बागमती प्रदेशमा अवस्थित यस जिल्ला यस देशको ३९ पहाडी जिल्लाहरू मध्ये एक पहाडी जिल्ला हो । कुल १९२४.८७ वर्ग कि.मी. (नेपालको कुल क्षेत्रफलको करिब १.३१%) क्षेत्रफलमा फैलिएको यो जिल्लाको पूर्व-पश्चिम फैलावट भन्दा उत्तर-दक्षिण बिस्तार बढी रहेकोमा समुद्र सतहदेखि ३०० मिटर (बेनिघाट रोराङ गाउँपालिका स्थित जोगीमारा) देखि ७११० मिटरको उचाई (पाविल हिमाल) सम्म रहेको छ । यस जिल्लाको सदरमुकाम धादिङबेंसी काठमाण्डौंबाट ७४ कि.मी. पश्चिम पृथ्वी राजमार्गमा पर्ने मलेखु फुर्केखोलादेखि १८ कि.मी. उत्तरमा अवस्थित छ ।

यो जिल्ला मनोरञ्जन हिमदृष्य, हिमालय पर्वतबाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आँखु र बुढीगण्डकीको सौन्दर्य, चरन क्षेत्र र टारहरुको मनमोहक अवस्थितिले सुसज्जित छ । धादिङ जिल्ला प्राकृतिक सम्पदा, साँस्कृतिक मिश्रण एवं सामाजिक विविधताको संगमस्थलको रुपमा पनि परिचित छ । यहाँ समशितोष्ण मौसमी हावापानी पाईन्छ । यहाँ सरदर वार्षिक वर्षा २१२० मि.मि. हुने गर्दछ भने मनसुन जुन महिनाको मध्यबाट शुरु भै सेप्टेम्बर महिनासम्म सक्रिय रहने गर्दछ । गणेश हिमालको काखमा अवस्थित धादिङ जिल्लाको भूगोल र भौगोलिक आयामले पर्यटन र व्यवसायिक कृषिका लागि प्रसस्त सम्भावनाहरु बोकेका छन् ।

भू-आकृतिमा झण्डै बुटको आकारमा रहेको धादिङ जिल्लाको पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाहरू पर्दछन् । धादिङ जिल्ला प्रशासनिक एवं राजनैतिक बिभाजन अनुसार ११ वटा गाउँपालिका र २ वटा नगरपालिकाका १०४ वटा वडाहरूमा विभक्त छ । यस जिल्लाको सदरमुकाम २०३२ साल भन्दा पहिला सुनौला बजारमा रहेकोमा सो सदरमुकाम हाल निलकण्ठ नगरपालिका स्थित धादिङवेसीमा रहेको छ । निलकण्ठ नगरपालिका बि.सं. २०७१ सालमा घोषित नेपालका नगरपालिकाहरु मध्ये एक हो ।

जलश्रोतको दृष्टिले समेत यो जिल्ला एउटा सम्पन्न जिल्लाको रूपमा रहेको छ । पच्चीस वटा ठूला नदी-नालाहरू रहेको यो जिल्ला प्राकृतिक रूपले मनोरम छ । उत्तरमा अवस्थित गणेश हिमालले यस जिल्लाको प्राकृतिक छविलाई अझ रोचक र तिलस्मीपूर्ण वनाएको छ । गंगा जमुनाको झरना, झार्लाङको तातोपानी मुल, गुप्तेश्वर गुफा, चमेरे ओडार जस्ता प्राकृतिक सम्पदाहरूबाट सुशोभित यो जिल्ला पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । व्राम्हण, क्षेत्री, तामाङ र मगर जातिको बाहुल्य रहेको यस जिल्लामा अन्य जातिको रूपमा नेवार, गुरूङ, कामी, दमाई, सार्की, कुमाल, दरै, राई, प्रजा (चेपाङ) जातिहरू बसोबास गर्दछन् । अन्य पेशामा संलग्न रहे तापनि यस जिल्लाका जनताको मुख्य पेशा कृषि नै हो ।

वन सम्पदाको हिसाबले धादिङमा कूल भू-भागको ३४.९०% मा वन रहेको छ भने झाडी १३.१५%, चरण क्षेत्र ८.२२% र कृषिक्षेत्र करीब ३८% रहेको छ ।प्रजातिगत हिसाबले यस जिल्लाको वनमा चिलाउने, कटुस, साल, सल्ला, उत्तिस, खयर, लालीगुराँस, बाँझ र भोजपत्र लगायतको प्रजातिको बाहुल्य रहेको छ । यस जिल्लामा पहाडी सालको वन करीब २६.१०% रहेको छ (धादिङ जिल्लाको वनक्षेत्र योजना, २०६८) ।

तालीका-१: धादिङ जिल्लाको भू-उपयोगको स्थिति

धादिङ जिल्ला वन व्यवस्थापनको हिसाबले समुदायमा आधारित वन व्यवस्थापनको लागि देशमै अग्रणी स्थानमा आउँछ । यस जिल्लामा सञ्चालित वन विकास कार्यक्रमहरूमा सामुदायिक तथा कवुलियती वन विकास कार्यक्रमले मौजुदा वनको विकास तथा गरीबि निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मौजुदा वन क्षेत्रमध्ये हालसम्म ७१७ वटा सामुदायिक वन उपभोक्ता समूहहरूका ७८,००३ घरधूरीहरूलाई ३६,३७१.६६ हे. वन क्षेत्र सामुदायिक वनको रूपमा हस्तान्तरण गरिसकिएको छ । त्यस्तै ४८५ गोटा कवुलियती वन समूहहरूका ४,३३४ घरधूरीलाई १,९२२.१२ हे. राष्ट्रिय वन क्षेत्र कवुलियती वनको रूपमा हस्तान्तरण गरि सकिएको छ । दुबै कार्यक्रमले जिल्लाका अधिकांश घरधुरीलाई वन्यजन्य पैदावार परिपूर्ति गरी गरीवी न्यूनीकरणमा टेवा पु¥याएको छ ।

त्यस्तै यस जिल्लामा २७ वटा निजी वनहरू दर्ता भएका छन् । निजी वनको कूल क्षेत्रफल १७.१४ हे. रहेको छ । सरकारबाट ब्यवस्थित वनको क्षेत्रफल ५६,७९०.५१ हेक्टर रहेको छ । पछिल्लो पटक आ.व. २०७९।०८० मा जिल्लाको ज्वालामुखी गाउँपालिकाको वडा नं. ४ स्थित बसाह मन्डली संरक्षण समाजले संरक्षण र व्यवस्थापन गर्ने गरी १०.३ हे. राष्ट्रिय वनलाई बसाह मण्डली धार्मिक वनको रूपमा हस्तान्तरण गरिएको छ । बसाह मण्डली धादिङ जिल्लाको चर्चित तीर्थस्थल हो ।

जिल्ला वन कार्यालयको नामबाट जिल्लाबासीहरूलाई वन सेवा प्रदान गरिरहेको यो कार्यालय देशमा संघियता लागु भएपछि डिभिजन वन कार्यालयमा रूपान्तरित भएको छ । यस डिभिजन वन कार्यालय अन्तर्गत १३ पालिकाहरू पर्दछन् । मुलतः ती सबै पालिकाहरूका जनतालाई वन सम्बन्धी सेवा घर दैलोबाटै प्रदान गर्ने हेतुले ८ (आठ) वटा सब डिभिजन वन कार्यालयहरूमा बाँढिएको छ (चित्रः१)।

चित्र-१:धादिङ जिल्लाको कार्यक्षेत्र