हाम्रो सालक प्यारो सालक
प्रकाशक: डिभिजन वन कार्यालय धादिङ
धादिङ जिल्लामा विगत २-३ वर्षमा संरक्षित वन्यजन्तु सालक सम्बन्धी घटेका विभिन्न घटनालाई सूक्ष्म ढङ्गले केलाउने हो भने हामी सहजै के अन्दाज गर्न सक्छौँ भने यहाँ सालकको उपस्थिति राम्रो छ। यहाँ केवल २ वर्षको अवधिलाई मात्र हेर्ने हो भने सालकको २ वटा मुद्दा, ५ वटा जीवित उद्धार, २ वटा मृत उद्धार गरेका छौं। अझ गाउँघरतिर बुढापाकासँग कुरा गर्ने हो भने पहिला यहाँ सालक जताततै पाइन्थ्यो भन्ने सहज उत्तर आउने गरेको छ। यहाँ सालक छ तर पछिल्लो पुस्तामा सालकको बारेमा चेतना अत्यन्त कमजोर रहेको पाइयो, कैयौँलाई थाहा नै छैन र थाहा भएकालाई पनि यसको महत्वको बारेमा जानकारी छैन। यी सबै कुरालाई मध्यनजर गरेर डिभिजन वन कार्यालय धादिङले जनसमुदायलाई सालक संरक्षणका बारेमा चेतना जगाउनु आफ्नो पहिलो र अनिवार्य कर्तव्य सम्झेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हामीले यसको जानकारीको लागि आफ्नो कम्पाउन्डमा धमिराको देवल सहितको सालक पार्क, गेट, गेटमा आकर्षक चित्र निर्माण गरेका छौ। जूलोजिकल सोसाइटी अफ लन्डन (ZSL) को सहयोगमा फ्लेक्स निर्माण गरेर जिल्लाभरि वितरणको व्यवस्था मिलाएको छौं। यहाँको स्थानीय सञ्चार को माध्यमबाट पनि यसको व्यापक प्रचार प्रसार भएको छ, यस पश्चात् यहाँको पालिका, सञ्चार समूह, वन समूह, स्कुले नानीबाबुले देखाएको सालक प्रतिको स्नेह, चासो र केही गरी भन्ने प्रतिबद्धताले हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ। यसैको स्वरूप विश्व वन्यजन्तु कोष (WWF Nepal) को सहयोगमा यो पुस्तिका यहाँहरूको हातमा आइपुगेको छ। यसले सातक सम्बन्धी यहाँहरूमा रहेको जिज्ञासालाई मेटाउने र सालक संरक्षणमा तपाईँको सहयोग पुग्ने हामीले अपेक्षा लिएका छौं।
तत्त्वले यसको खपटा बनेको हुन्छ। यसको शारीरिक बनोट र आनीबानी अन्य स्तनपायी जनावर भन्दा बिलकुल फरक हुन्छ। स्थान विशेष अनुसार यसलाई हिले माछो, साल माछो, स्याल माछो, सालमछारी, हिन्दीमा बज्र किट, बज्रकपटा र अन्य विभिन्न जातजातिले आफ्नो भाषा अनुसार फरक फरक नामले चिनिन्छ।
सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ। सालकको दाँत हुँदैन। यसको जिब्रोको अधिकतम लम्बाइ ४० सेन्टिमिटरसम्म र करिब १-१.५ सेमी चौडाइको हुन्छ, जुन मुखबाट नभई शरीरको भित्री हड्डी भएको भागबाट विकास भएको हुन्छ। यसको जिब्रो लेसाइलो हुन्छ र यही जिब्रोको सहायताले धमिरा, कमिला पनि सहज ढङ्गले खान्छ। तुलनात्मक रुपमा यसको आँखा कमजोर तर सुन्ने र सुन्ने शक्ति राम्रो हुन्छ र यही शक्तिको मद्दतबाट यसले आफ्नो गतिविधि अगाडि बढाउँछ। यसको रङ्ग माटोसँग मिल्दोजुल्दो देखिन्छ।