चिउरी र चमेरो संरक्षण अभियान (चेपाङ समुदायको उत्थानको लागि)
For the upliftment of the Chepang Community
चिउरी र चमेरोसङ चेपाङ समुदायको निर्वाहमुखी, ऐतिहासिक, प्रथाजनित र सांस्कृतिक सम्बन्ध छ तर हिजोको तुलनामा आज यो सम्बन्ध क्रमशः नयाँ स्वरूपमा परिवर्तन भइरहेको हामीले महसुस गरेका छौं। यो सम्बन्धलाई अब निर्वाहमुखीमा मात्र सीमित नराखी समृद्धितर्फको यात्रामा हिँडाउनु पर्छ र यसको लागि चिउरी एक महत्त्वपूर्ण साधन हुन् सक्छ, यसको सघन सदुपयोग गर्नु पर्छ भन्ने कुरालाई अनुभूत गर्दै धादिङको चिउरी र चेपाङ बाहुल्य बेनीघाट रोराङ गाउँपालिकाले डिभिजन बन कार्यालय धादिङको प्राविधिक सहयोगमा यो पुस्तिका यहाँहरू समक्ष ल्याएका छौ।
यो पुस्तिकाले नयाँ परिवेशमा स्वयम् आफ्नो समृद्धिको यात्रामा चेपाङ समुदायको भूमिका, चिउरी, चमेरोको अहिलेको अवस्था र आगामी कार्यदिशा के हुन् सक्छ, चिउरीको प्रवर्द्धनमा विभिन्न सरोकारवालालाई कसरी समेट्न सकिन्छ, वहाँहरूको भूमिका के हुन्छ लगायतका विषय समेटिएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर यो सानो पुस्तिका यहाँहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यो पुस्तिकाबाट चेपाङ समुदाय, नीति तथा नेतृत्व तहमा रहेको विभिन्न निकाय र विभिन्न सरोकारवाला समूहले थोरै मात्र पनि ग्रहण गरेर आफ्नो क्षेत्रमा लागु गराउनु भयो भने हामी यो पुस्तिका प्रकाशन सार्थक भएको सम्झिनेछौँ ।
यो पुस्तिकाले सुझाएका कुरा नै अन्तिम सत्य होइनन् र केबल चिउरी मात्र चेपाङ समुदायको समृद्धिको एक मात्र आधार होइन भन्ने कुरामा हामी त्यतिकै सजग र सचेत छौ। हामी अझ कसरी यो विषयलाई प्रभावकारी ढंगले आफ्नो क्षेत्रमा लागु गर्न गराउन सक्छौ भन्ने सवालमा सबै खालको सुझाव र काम गर्ने माहौलको सहजताको लागि आग्रह गर्दछौं। चिउरीको विषयमा अपनत्व एवं अभिभावकत्व ग्रहण गरेर अगाडी बढाउनु हुने बागमती प्रदेश सरकार, बेनीघाट रोराङ गाउँपालिका र यो पुस्तिका तयारीको क्रममा सहयोग पुर्याउने सबैप्रति अत्यन्त धेरै आभार व्यक्त गर्दछ र आगामी दिनमा समेत सहयोगको अपेक्षा राख्दछौ ।
डिभिजनल वन अधिकृत
विष्णु प्रसाद आचार्य