वातावरण शिक्षा (नानीबाबुहरूमा समर्पित)

प्रकाशक: डिभिजन वन कार्यालय धादिङ

None

वातावरण र जीवन अभिन्न मात्रै होइन अभेद्य सम्बन्धका तन्तुहरू हुन् जसका गद्यात्मक अन्तर सम्बन्धित सृष्टिका परिघटनाहरू अपरिभाषित छन्। वातावरणका वर्तमान मुद्दाहरू एक देश, समाज, व्यक्ति र समुदाय विशेषको मात्रै होइन। सिङ्गो विश्व समुदाय र पृथ्वीको ज्वलन्त सवाल हो तथापि देश समुदाय र भूगोल विशेषका पनि अलग अलग सवाल तथा विशिष्ट समस्याहरू हुँदै छन्।

हाम्रो प्रमुख वातावरणीय समस्या भनेका प्राकृतिकता श्रोतको अत्यधिक दोहन हो। बाँकी समस्या यही दोहनबाट सिर्जित हुन्। यी समस्याको समाधान पनि यिनै विषयको वरिपरि छ तर यी विषयमा पर्याप्त छलफल र जानकारी अझै हुन सकेको छैन, त्यसमा पनि भविष्यका पुस्ता जसले यी तमाम विषयमा नेतृत्व गर्दछ उनीहरू समक्ष अझै पनि जति पुग्नुपर्ने हो पुग्न सकेको छैन। यही विषयलाई मध्यनजर राख्दै हामीले यो पुस्तक विद्यालयका नानीबाबुलाई समर्पित गर्दै प्रकाशन गर्ने जमर्को गरेका छौँ।

यसमा हामीले ३ वटा मुख्य सवाललाई प्राथमिकता दिएका छौं। पहिलो सवाल युवा विद्यार्थीलाई वातावरणीय शिक्षा दिनु भनेको सिङ्गो पुस्तालाई नै पर्यावरणीय चेत दिनु हो भन्ने हाम्रो अटल मान्यता र विश्वास छ। दोस्रो सवाल रुख भनेका रुख मात्र होइनन्, यी प्रकृतिका निःशुल्क वरदान, हाम्रा इतिहास, सभ्यता, संस्कृतको श्रोत र धरोहर पनि हुन्। हामीले वन संरक्षण गर्दा केवल वन, वातावरण र समृद्धि मात्र जोगाएका हुँदैनौँ यो सँगै इतिहास, सभ्यता, संस्कृतिको जगेर्ना पनि गरेका हुन्छौ। तर यी विषयमा हामीले असाध्य कम ध्यान दिई र वनलाई केबल समृद्धिसँग मात्रै जोड्यौँ अबका दिनमा यो विषयमा बोलिनु र व्यवहारिक रूपमा पनि खरो ढङ्गले उतार्नु पर्छ भन्ने मान्यता। तेस्रो सवाल भनेको प्राकृतिक श्रोतले सम्पन्न हुँदाहुँदै पनि यसको समुचित सदुपयोगको अभावमा धादिङ पछि परेको सत्य उदाङ्गो छ। धादिङमा अनेकौँ जैविक विविधता, दर्जनौँ हिमशृङ्खला सहितका उत्कृष्ट पर्यटकीयता गन्तव्य छन् तर यिनका बारेमा बोल्ने, बहस गर्ने, छलफल गर्ने ज्यादै कम छन्, नगन्य छन्। यिनै विषयलाई निरन्तर बहसमा ल्याउनुपर्छ र त्यसको लागि पहिला यी विषयमा जानकारी गराउनु पर्दछ भन्ने मान्यताको साथ यो पुस्तक यहाँहरू समक्ष आइपुगेको छ।

यो पुस्तकमा हामीले वन वातावरणसँग सम्बन्धित ३० वटा लेख र विभिन्न १७ वटा कविता/गीत समावेश गरेका छौँ। यसले केही हदसम्म भए पनि युवा विद्यार्थीलाई वातावरणका विषयमा सहज ढङ्गले बुझाउन मद्दत पुग्छ भन्ने अपेक्षा गरेका छौं। लेखहरूमा यो पटक धादिङको सबैभन्दा पछि परेको तर प्रकृतिले अद्भुत दिएको रुविभ्याली क्षेत्र र हाइकिङ ट्रेकिङ गन्तव्यलाई प्राथमिकता दिएका छौ। यसले हाम्रो पुस्ता र आगामी पुस्ताले यी र यस्ता पर्यटकीय गन्तव्यको भ्रमण गरुन् र प्रकृतिलाई नजिकबाट स्वः अनुभव गर्न सकुन् र आफ्नो स्वतन्त्र दृष्टिकोण बनाउन सफल होउन् भन्ने हो।

यो पुस्तकका केही अंश र फोटोहरू पूर्व प्रकाशित स्रोतबाट साभार गरेका छौ। हामी वहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। पुस्तक प्रकाशनमा महत्त्वपूर्ण लेखहरू प्रदान गर्ने लेखकहरू, सुझाव दिने अनुभवीहरू, लेख सम्पादनमा संलग्न सबैलाई हार्दिक आभार व्यक्त गर्दै आगत भविष्यमा पनि सम्बद्ध सबैबाट प्रकृति संरक्षणमा प्यारपूर्ण हातेमालो रहिरहनेछ भन्ने विश्वास सँगालेका छौं। प्रस्तुत पुस्तकलाई अध्येताहरूले अत्युत्तम सदुपयोग गर्नुहुनेछ र यसका सकारात्मक पक्षलाई ज्यामितीय रूपमा विस्तार गर्दै सुधारात्मक पक्षका निमित्त हामीलाई सुझाव सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वासका साथ सम्बद्ध सबैलाई आभार व्यक्त गर्दछ।

जय प्रकृति, जय पर्यावरण, जय वसुन्धरा।

डिभिजनल वन अधिकृत  

विष्णु प्रसाद आचार्य